Section 28
केन्द्रको काम, कर्तव्य र अधिकार
केन्द्रको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) फोहरमैला व्यवस्थापनको लागि उपयुक्त प्रविधिको विकास तथा क्षमता अभिवृद्धिमा स्थानीय तहलाई सहयोग गर्ने,
(ख) फोहरमैला व्यवस्थापनको प्राविधिक पक्षको अनुगमन तथा मूल्याङ्कन गरी सोमा गर्नु पर्ने सुधारका सम्बन्धमा सम्बन्धित स्थानीय तहलाई सुझाव दिने,
(ग)  केन्द्रको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गरी स्वीकृतिका लागि सञ्चालक समिति समक्ष पेश गर्ने,
(घ) फोहरमैला व्यवस्थापनमा स्थानीय तहहरुलाई सहयोग गर्ने,
(ङ) कुनै स्थान विशेषको फोहरमैलाको प्रकृति र परिमाण, त्यसको सङ्कलन, उपचार, ढुवानी, विसर्जन वा नष्ट गर्ने प्रक्रिया तथा सोको लागि अवलम्बन गर्नु पर्ने न्यूनतम मापदण्ड तयार गरी स्वीकृतिका लागि परिषद् समक्ष पेश गर्ने,
(च)  फोहरमैला व्यवस्थापन सम्बन्धी नयाँ प्रविधिको विकास, विस्तार तथा प्रचार प्रसार गर्ने,
(छ)   फोहरमैला व्यवस्थापन सम्बन्धी संरचना निर्माणको लागि स्थानीय तहलाई प्राविधिक सहयोग उपलब्ध गराउने,
(ज) फोहरमैला व्यवस्थापन सम्बन्धी अध्ययन अनुसन्धान गर्ने वा गराउने तथा तथ्याङ्क सङ्कलन गरी फोहरमैला व्यवस्थापनको अवस्थाको यथार्थ विवरण सार्वजनिक गर्ने,
(झ) फोहरमैला व्यवस्थापन गर्न दक्ष जनशक्ति विकास तथा क्षमता अभिवृद्धि गर्न स्रोत केन्द्र तथा अध्ययन केन्द्रको रुपमा काम गर्ने,
(ञ) हानिकारक, स्वास्थ्य संस्थाजन्य रासायनिक तथा औद्योगिक फोहरमैलाको उचित व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने,
(ट)  फोहरमैलाको प्रकृतिको आधारमा त्यसको उत्पादन न्यूनीकरण गर्ने तरिकाको पहिचान तथा विकास गरी अवलम्बन गर्नको लागि प्रोत्साहन गर्ने,
(ठ) फोहरमैला व्यवस्थापन कार्यमा जनसहभागिता जुटाउनका लागि अवलम्बन गर्नु पर्ने रणनीति तयार गरी स्वीकृतिका लागि परिषद् समक्ष पेश गर्ने,
(ड) फोहरमैला व्यवस्थापन कार्यलाई भरपर्दो तथा आर्थिक रुपमा आत्मनिर्भर बनाउने विषयमा विस्तृत अध्ययन गरी सेवा शुल्क निर्धारण तथा असूल गर्ने सम्बन्धमा स्थानीय तहलाई सुझाव दिने,
(ढ) परिषद्, सञ्चालक समिति तथा समन्वय समितिका निर्णयहरु कार्यान्वयन गर्ने वा गराउने,
(ण) फोहरमैलाको व्यवस्थापन गर्ने निजी क्षेत्रका व्यक्ति, संस्था वा निकायले केन्द्रको प्राविधिक सहयोग वा परामर्श माग गरेमा सेवा शुल्क लिई सहयोग वा परामर्श प्रदान गर्ने,
(त) तोकिए बमोजिमका अन्य कार्यहरु गर्ने, गराउने ।